काठमाडौं । मनोहरा नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा वर्षापछि जीवन कष्टकर बनेको छ। लगातार परेको पानीका कारण बस्ती डुबानमा परेपछि स्थानीयवासीको दैनिक जीवन अस्तव्यस्त भएको हो।
बाढीले घरभित्र पानी पसेपछि धेरै परिवार विस्थापित भएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक सामग्री क्षति पुगेको स्थानीयले बताएका छन्। बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्।
स्थानीयका अनुसार वर्षा सुरु हुनासाथ बस्ती डुबानमा पर्ने समस्या वर्षेनी दोहोरिँदै आएको छ। उचित निकास र व्यवस्थापनको अभावले समस्या झन् गम्भीर बन्दै गएको उनीहरूको गुनासो छ।
यसबीच, काठमाडौं महानगरपालिका ले प्रभावित क्षेत्रमा उद्धार र राहतको काम अघि बढाएको जनाएको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको महानगरले जानकारी दिएको छ।
स्थानीयले दीर्घकालीन समाधानको माग गर्दै सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्