काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्याइएसंगै मच्छिन्द्रनाथको माताको मन्दिर परिक्रमा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्ग स्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगन पुर्याउने गरिन्छ। रथ लगन पुगेसँगै दर्शन एवं पूजा, आराधना गर्न भक्तजनको भीड समेत लागेको छ ।
लगनमा सेतो मच्छिन्द्रनाथको माताको मन्दिर छ। रथयात्राको तेस्रो दिन हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिएको हो। तेस्रो दिन चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने गरी पुर्याइएको हो । रथयात्रा पहिलो दिन असन र दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ। रथयात्रामा सयौको सहभागिता जुटेको छ।
रथयात्राका लागि बिहीबार दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्ग स्थित तीनधारा पाठशालाअघि लगिएको थियो। बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। अष्टमीका दिन शनिबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको थियो। रथजात्राको अन्तिम दिन भोलि मछिन्द्रनाथको मूर्तिलाई रथबाट निकाली खटमा राखी पुन मछिन्द्र बहाल पुर्याइने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्