काठमाण्डौ । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा आक्रमण गरेपछि शुरु भएको युद्ध दोस्रो महिनामा प्रवेश गरेको छ । गएको फेब्रुअरी २८ तारिखमा इरानमा आक्रमण शुरु भएको थियो ।
यो बीचमा मध्यपूर्वमा दशकौँपछि सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । युद्धले व्यापक विनाशसँगै विश्वभर धक्का पुर्याएको छ । इरानका सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमाण्डरसहित सर्वसाधारण नागरिकले ज्यान गुमाएका छन् । इरानले जवाफमा मध्यपूर्वमा रहेका इजरायली र अमेरिकी सैन्य अखडा लक्षित मिसाइल र ड्रोन प्रहार तीब्र पारेको छ ।
हर्मुज जलमार्गमा अवरोधले विश्वबजारमा तेलको आपूर्ति र भाउमा उतारचढाव हुँदै आएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले देशहरूबीच जस्तोसुकै मतभेद भएपनि, विद्यालय तथा बालबालिका लक्षित आक्रमण, अन्य अत्यावश्यक क्षेत्रमा अवरोधतर्फ आफूहरु सहमत हुन नसक्ने बताउनुभयो ।
हालै अमेरिका(इजरायल र इरानबीचको युद्धमा यमनको हुथी विद्रोही समूह पनि मिसिएको छ । इरानलाई समर्थन गर्दै हुथीले इजरायलमाथि मिसाइल प्रहार थालेको छ । हर्मुजको जलघाँटीमा अवरोध सिर्जना भइरहेको अवस्थामा यमनको समुद्री क्षेत्रमा हुथीको नियन्त्रण भएकाले हुथीको प्रवेशलाई चासोपूर्ण हेरिएको छ । यसले तेलको प्रमुख निर्यातकर्ता साउदी अरबलाई ठूलो समस्यामा पार्न सक्छ ।
यसअघि ट्रम्पले इरानसँगको वार्ता अन्तिम चरणमा रहेको दाबी गर्नुभएको थियो । तर इरानले यो दाबीलाई अस्विकार गर्दै आएको छ । युद्ध अन्त्यतर्फका वार्तामा अन्योल भइरहका बेला पाकिस्तानले साउदी अरब, टर्कीए र इजिप्टबीच इरान युद्धको विषयमा छलफल चलाउने भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्